यसकारण छ खास बेलका-४ को विकास [अन्तर्वार्ता]

यसकारण छ खास बेलका-४ को विकास [अन्तर्वार्ता]

 राष्ट्रिय डेली

नेपाल संघीयता अभ्यासको दोस्रो चरणमा छ । विगतमा सामान्य प्रशासनिक कामकाजका लागि पनि जिल्ला सदरमुकाम वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यात्मक कठिनाइ झेलेका नागरिकले देशमा अधिकार सम्पन्न स्थानीय सरकार स्थापनापछि घरपायक वडा वा पालिकाको कार्यालयबाट सेवा लिन पाएका छन् । सिंहदरबार अब गाउँगाउँमा छ । विकासका धेरैजसो कामहरू वडा र पालिकाबाटै भइरहेका छन् । तर, नागरिकका आशा र अपेक्षा असीमित छन् र तीमध्ये कति पूरा हुन्छन् त कति हुँदैनन् । स्वभावैले मानिस असन्तोषी प्राणी हो र विकासको श्रेय पनि यही असन्तोषलाई नै जान्छ ।

संघीयतापछि देशमा दुई पटक स्थानीय तहको निर्वाचन भइसकेको छ । २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पनि दुई वर्ष बितिसकेको छ । यस अवधिमा विकासका थुप्रै कामहरू भएका छन् । आफ्नो क्षेत्रका जनप्रतिनिधिहरूले के कसरी काम गरिरहेका छन् ? चुनावी प्रतिबद्धताअनुसार आफ्ना आशा र अपेक्षा कत्तिको पूरा गर्दैछन् ? नागरिकको चासोको विषय हो । यिनै विषयमा केन्द्रित रहेर राष्ट्रिय डेलीले उदयपुरको बेलका नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तीर्थराज अधिकारीसँग कुराकानी गरेको छ । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश :

वडाध्यक्षको रूपमा अहिलेसम्मको तपाईंको अनुभव कस्तो छ ?
नेपाल अझै पनि संघीयता अभ्यासकै चरणमै छ । यस हिसाबले भन्दा हामी निर्वाचित भएर आएको पहिलो वर्ष सिकाइको वर्षका रूपमा रह्यो । पहिलो वर्ष सिकेको अनुभवले दोस्रो वर्ष पहिलो वर्षभन्दा केही बढी योजनाहरूका काम गरिरहेका छौं । वडाका लागि विनियोजित बजेट सीमित छ । स्रोतसाधनको अपर्याप्ताका बीच पनि हामी त्यसको अधिकतम प्रयोग गरेर काम गरिरहेका छौं ।

चुनावताका तपाईंको घोषणापत्रमा के कस्ता प्रतिबद्धताहरू गरिएका थिए र प्रतिबद्धताअनुसार के कति कामहरू भएका छन् ?
मेरो चुनावी घोषणापत्रमा मैले वडाको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदिका आधारमा आवश्यक र सम्भाव्य विकासका कार्यहरू गर्ने प्रतिबद्धता जाहेर गरेको थिएँ । यसअन्तर्गत सडक विस्तार र स्तरोन्नति, खानेपानीको समस्या समाधान, सिँचाइ आदिलाई प्राथमिकतासाथ समेटेको थिएँ । जनताले वडाध्यक्षमा निर्वाचित गरेर कार्यकाल सम्हालेयता यी क्षेत्रको विकासमा हामी सक्रियतापूर्वक लागिपरेका छौं । केही योजनाहरू सम्पन्न भइसकेका छन् भने केही सम्पन्न हुने चरणमा, केही निर्माणाधीन र केही निर्माण थालनीको प्रक्रियामा छन् । समग्रमा चुनावी घोषणापत्रअनुसार प्रतिबद्धताहरू केही पूरा भए र बाँकी क्रमशः पूरा गर्दै जानेछौं । साथै विकासका दृष्टिकोणले बेलका नगरपालिका वडा नं. ४ नगरपालिकाका ९ वटा वडामध्ये सबैभन्दा बढी विकास भएको वडा हो ।

विकास निर्माणअन्तर्गत कुन-कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?
हामी निर्वाचित भएर कार्यकाल सम्हालेको दुई वर्षको अवधिमा विकासका कामहरू आवश्यकताअनुसार प्राथमिकीकरण गरेर अगाडि बढाइएका छन् । विगतमा बेलका नगरपालिका वडा नं. ४ का केही भूभागमा खानेपानीको चरम समस्या थियो । कार्यकालको पहिलो वर्ष हामीले खानेपानीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गर्‍यौं र अहिले खानेपानीको समस्या धेरै हदसम्म समाधान भएको छ । दोस्रो वर्ष हामीले सिँचाइको कामलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू अगाडि बढायौं र यसबीच केही सिँचाइ आयोजनाहरू बनिसकेका छन् भने केही बन्दैछन् । आगामी वर्ष हामी सडक विस्तार र स्तरोन्नतिको योजनामा छौं । हरेक वर्ष एउटा योजना सक्ने लक्ष्यसहित हाम्रो टिम लागेको छ ।

तपाईंको भनाइमा जनताको आशा र अपेक्षाअनुरूप काम भयो भन्ने हो ?
जनप्रतिधिप्रति स्वाभाविक रूपमा जनताका आशा र अपेक्षाहरू धेरै हुन्छन् । कतिपय ठूला योजनाहरू बनाउन वडाको क्षमताले नसक्ने अवस्था पनि हुन्छ । वडाको बजेटले धानेसम्म हामीले जनताका धेरैजसो आशा र अपेक्षा सम्बोधन गरेका छौं । र, ठूल्ठूला योजनाहरू नगरपालिका, प्रदेश र संघीय सरकारसमक्ष पुर्‍याएर आवश्यक बजेट माग गरी निर्माण गरेका छौं ।

नागरिकको आर्थिक समृद्धिका लागि वडाले के कस्ता कार्यहरू गरिरहेको छ ?
बेलका नगरपालिका वडा नं. ४ का केही भूभाग पहाडी क्षेत्रमा पर्छ । भौगोलिक विकटता र बजेट अभावका कारण विकासका कतिपय कामहरू गर्न चुनौतीपूर्ण छ । पहाडी क्षेत्रमा बेसार, बाँस र अम्रिसो, तराई क्षेत्रमा धान, गहुँ, तोरी, टप्पु क्षेत्रमा तरकारी खेतीमार्फत नागरिकलाई आत्मनिर्भर बनाउने अभियानमा हामी लागिपरेका छौं ।

वडाको आन्तरिक आम्दानीको अवस्था कस्तो छ ?
सीमित स्रोतसाधन, नागरिकहरूमा नीतिगत जानकारीको अभाव आदिका कारण हामी राजस्व संकलनको लक्ष्यमा पुग्न सकिरहेका छैनौं । यिनै कारणले कतिपय योजनाका काम घाटा बजेटमा पनि गर्नुपर्ने अवस्था छ । यस वर्ष हामीले वडाको क्षमताले नभ्याउने केही योजनाहरू संघीय र प्रदेश सरकारसँग माग पनि गरेका छौं ।

शैक्षिक क्षेत्र सुधारका लागि यहाँहरूको प्रयास के छ ?
हामी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आउँदै गर्दा बेलका नगरपालिका वडा नं. ४ मा रहेका दुईवटा सामुदायिक विद्यालयको अवस्था दयनीय थियो । हामी जिम्मेवारीमा रहेयता शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिएका छौं । अहिले दुवै विद्यालयको अवस्था राम्रो छ । विद्यार्थी संख्या बढेको छ भने पालिकाबाहिरबाट पनि केही विद्यार्थीहरू यहाँ आएर अध्ययन गरिरहेका छन् । शिक्षाको गुणस्तर पनि सुधार भएको नतिजाहरूले देखाएका छन् ।

वडामा केही युवाहरू लागुऔषध दुर्व्यसनमा पनि फसेको देखिन्छ, यसलाई न्यूनीकरण गर्न के कस्ता कदमहरू चाल्नुभएको छ ?
युवाहरू लागुऔषध दुर्व्यसनमा फस्नुको मुख्य कारण बेरोजगारी समस्या रहेको देखिन्छ । लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्न हामीले नेपाल प्रहरीसँगको समन्वयमा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमहरू गरेका छौं । वार्षिक दुई पटक यस्तो कार्यक्रम गर्ने गरेका छौं । वडामा नवजीवन सुधार केन्द्र छ । लागुऔषध दुर्व्यसनमा फसेका युवाहरूलाई त्यहाँ राखेर पनि यसबाट छुटकारा दिलाउने कोसिस गरेका छौं । केही युवाहरू सुधार केन्द्रबाट पुनर्जीवन पाएर अहिले व्यावसायिक काममा लाग्नुभएको छ । युवाहरूको बेरोजगारी समस्या समाधानका लागि हामीले सक्दो प्रयास गरेका छौं । व्यवसाय गर्न चाहने युवाहरूलाई वडाले सहयोग र सहजीकरण पनि गर्दै आएको छ ।

आगामी योजना के छ ?
बेलका नगरपालिका वडा नं. ४ का दूरदराजका केही भूभागमा विद्युतको समस्या छ । ती स्थानहरूमा पनि विद्युत विस्तार गरेर हामी यस वर्ष वडालाई पूर्ण विद्युतीकरण गर्ने योजनामा छौं । त्यसैगरी वडाका केही कच्ची सडकहरूलाई पक्की गर्ने हाम्रो आगामी योजना हो ।

वडावासीलाई यहाँको सन्देश के छ ?
चुनावमा कुनै दलबाट उम्मेदवार रहे पनि निर्वाचित भएपछि जनप्रतिनिधि भनेका सबैका साझा हुन् । हामी निर्वाचित भएको दलको नभई नागरिकको मतले हो । हामी सबै नागरिकलाई समान व्यवहार गर्छौं । विकास साझा एजेण्डा हो । यसमा सबैको साथ र सहयोग चाहिन्छ । वडाको विकासका लागि सबै नागरिक र राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्छ र लाग्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।

 

 

 

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...