विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सरकारमा नयाँ अनुहारहरूलाई समेटेका छन् । यसअघि कार्यरत सबै मन्त्रीलाई हटाएर नेपाली कांग्रेस र नेकपा ९एमाले० का नेताहरूलाई सहभागी गराउँदै नयाँ मन्त्रिपरिषद् गठन गरिएको हो ।
मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ मन्त्री र २ राज्यमन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका हुन् ।
नयाँ मन्त्रिपरिषद् गठनमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले बीच समान भागवण्डा मिलाइएको छ । दुवै दलबाट चार–चार मन्त्री र एक–एक राज्यमन्त्री सहभागी छन् । पुनर्गठित मन्त्रिपरिषद्ले प्रदेश सरकारको कार्यसम्पादनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
मन्त्रिपरिषद् अनुसार प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र इन्द्रमणि पराजुलीले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी विदुरकुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोलाई सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बुलाई स्वास्थ्य मन्त्रालय र इस्राईल मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री कार्कीले सरकारको कार्यक्षमता बढाउने, नीतिगत कार्यान्वयनलाई तीव्रता दिने तथा सत्तारुढ दलहरूबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन् । पुनर्गठित टोलीले प्रदेशको विकास, सुशासन र आर्थिक गतिविधि प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
Post Views: 135