विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश र मोरङ शाखाका प्रतिनिधिहरूले बुधबार जिल्ला प्रशासन कार्यालय, मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमार्फत पत्रकारहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा पत्रकारहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् ।
पत्रकारहरूले जनाएका अनुसार, ग्रामथान–४ स्थित लोहन्द्रा खोलामा भइरहेको अवैध उत्खनन् विषयमा समाचार संकलन गर्न पुगेका बेला उत्खननमा संलग्न समूहले धम्की दिएको हो। उक्त समूह गाउँपालिका अध्यक्ष नमोनारायण माझीको उपस्थितिमै सक्रिय रहेको र उनीबाट अपेक्षित सहजीकरण नभएको भन्दै पत्रकारहरूले आशंका व्यक्त गरेका छन् ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, अध्यक्ष माझीले स्थिति नियन्त्रणमा लिनुको सट्टा पत्रकारहरूलाई नै दोषारोपण गर्ने खालका अभिव्यक्ति दिएका थिए। साथै, आगामी दिनमा ग्रामथानमा रिपोर्टिङ नगर्न चेतावनीसमेत दिएको आरोप पत्रकारहरूको छ। अध्यक्षकै संलग्नतामा व्यक्तिहरू परिचालन गरी धम्की दिइएको दाबी गर्दै पत्रकारहरूले प्राकृतिक स्रोतको दोहनमा मिलेमतो हुन सक्ने आशंका पनि उठाएका छन् ।
पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले जनप्रतिनिधिकै उपस्थितिमा पत्रकारमाथि धम्की हुनु गम्भीर विषय भएको बताए। उनले यस घटनाले प्रेस स्वतन्त्रता कमजोर पार्ने प्रयास भएको भन्दै आपत्ति जनाए। यस्तै, महासंघ मोरङका सचिव नेत्रपी अधिकारीले पत्रकारहरूको सुरक्षामा प्रशासनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै तत्काल छानबिन गर्न आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कट्टेलले घटनाबारे गाउँपालिका अध्यक्षलाई बोलाएर आवश्यक सोधपुछ गरिने आश्वासन दिएका छन् । उनले नदीजन्य स्रोतको दुरुपयोगसम्बन्धी विषयमा छानबिन समिति गठन भई अनुसन्धान भइरहेको पनि जानकारी दिए ।
मंगलबार मध्याह्न भएको उक्त घटनामा पत्रकारमाथि हातपातको प्रयाससमेत भएको बताइएको छ। पत्रकार महासंघ मोरङका कार्यसमिति सदस्य डुमरलाल मेहता र सदस्य मोहन ढकालका अनुसार, घटनाका क्रममा पत्रकारहरूलाई अपमानजनक व्यवहार गरिनुका साथै भविष्यमा सो क्षेत्रमा नआउन चेतावनी दिइएको थियो ।
घटनापछि पत्रकारहरूले सुरक्षित वातावरणमा स्वतन्त्र रूपमा समाचार संकलन गर्न पाउने अधिकार सुनिश्चित गर्न प्रशासनसँग माग गरेका छन् ।
Post Views: 143