विराटनगर । ग्रिनल्यान्डलाई लिएर अमेरिकासँग बढ्दो मतभेदबीच फ्रान्स र केही युरोपेली नेटो देशहरूले त्यहाँ जारी सैन्य अभ्यासका लागि थप सेना पठाउने भएका छन् । डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिले अमेरिकासँग गम्भीर असहमति रहेको बताएपछि युरोपेली गतिविधि तीव्र बनेको हो ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युरोपेली हित र क्षेत्रीय सार्वभौमसत्तामा खतरा देखिए फ्रान्सको उपस्थिति अनिवार्य हुने स्पष्ट पार्दै स्थल, जल र वायु सेनाका थप टोली ग्रिनल्यान्ड पठाउने घोषणा गरेका छन् । उनले रूस र इरानजस्ता शक्तिहरूको प्रभाव बढिरहेको उल्लेख गर्दै युरोपले आफ्नो रक्षा क्षमता सुदृढ गर्नुपर्नेमा जोड दिए ।
फ्रान्सले सैन्य सुदृढीकरणका लागि रक्षा बजेटमा ठूलो वृद्धि गर्ने निर्णयसमेत गरेको छ । सन् २०३० सम्ममा हालको खर्चमा थप ३६ अर्ब युरो लगानी गरिने बताइएको छ, जुन पहिल्यै स्वीकृत ४१३ अर्ब युरोभन्दा अतिरिक्त हो । यो लगानीले प्राविधिक र रणनीतिक क्षमता बढाई बाह्य खतराको सामना गर्ने लक्ष्य लिएको छ ।
यद्यपि, सबै नेटो सदस्य एकै धारमा छैनन् । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्नो देशले ग्रिनल्यान्डमा सेना नपठाउने घोषणा गरेका छन् । उनले एक नेटो सदस्यले अर्को सदस्यको क्षेत्र कब्जा गर्ने प्रयास विश्वका लागि विनाशकारी हुने चेतावनी दिए ।
ग्रिनल्यान्ड डेनमार्कको स्वायत्त क्षेत्र हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस वा चीनको प्रभाव रोक्न अमेरिकाले ग्रिनल्यान्डमा नियन्त्रण आवश्यक रहेको बताउँदै आएका छन् । यसै पृष्ठभूमिमा डेनमार्क र उसका सहयोगीहरूले त्यहाँ सैन्य अभ्यास तीव्र पारेका छन्, जसमा सहभागी हुन फ्रान्स र जर्मनीका सैनिकहरू प्रस्थान गरिसकेका छन् ।
Post Views: 147