विराटनगर । अमेरिकाले एकैदिन ९१ जना नेपाली नागरिकलाई डिपोर्ट गरी चार्टर विमानमार्फत काठमाडौं पठाएको छ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका राष्ट्रपति बनेपछि एकैपटक यति ठूलो संख्यामा नेपाली नागरिक डिपोर्ट गरिएको यो पहिलो घटना हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीका अनुसार सोमबार ९माघ ५०० अमेरिकाबाट निष्कासनमा परेका ९१ जना नेपाली काठमाडौं आइपुगेका हुन् । “अमेरिकाले चार्टर विमानको व्यवस्था गरी उनीहरूलाई नेपाल पठाएको हो,” उनले बताए ।
यसअघि पनि अमेरिकाले नेपाली नागरिकलाई चार्टर विमानमार्फत डिपोर्ट गर्दै आएको छ । पुस ३ गते ७५ जना नेपाली काठमाडौं आइपुगेका थिए । त्यसअघि गत भदौ १९ गते एकैदिन ३७ जना तथा जेठ २५ गते पनि ३७ जना नेपाली नागरिक डिपोर्टमा परेका थिए ।
अमेरिकाले कानुनी आधारबिना त्यहाँ बसोबास गरेका नेपाली नागरिकलाई निष्कासन गर्दै आएको जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट हुनुअघि केही दिनअगावै अध्यागमन विभागलाई जानकारी गराउने गर्छ । विमानस्थलमा आइपुगेपछि उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रहरीको जिम्मा लगाइने गरिएको छ ।
अध्यागमन स्रोतका अनुसार डिपोर्टमा पर्ने अधिकांश नेपाली अवैध बाटो प्रयोग गरी अमेरिका प्रवेश गरेका हुने गरेका छन् । यस कारण नेपाल प्रहरीले उनीहरूसँग आवश्यक सोधपुछ गर्दै अमेरिका पठाउने मानव तस्करबारे सूचना संकलन गर्ने गरेको छ ।
अमेरिकाले अवैध रूपमा प्रवेश गरेको, भिसा अवधि सकिएपछि पनि बसेको तथा गलत मनसायले बसोबास गरेको आरोपमा नेपाली नागरिकलाई डिपोर्ट गर्ने गरेको जनाएको छ ।
Post Views: 120