विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर कडा चेतावनी दिएका छन् । उनले परमाणु सम्झौताका लागि समय सीमित हुँदै गएको उल्लेख गर्दै वार्तामा नआए “अत्यन्त भयावह परिणाम” भोग्नुपर्ने संकेत गरेका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति तीव्र रूपमा विस्तार भइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।
ट्रम्पका अनुसार अमेरिकाको एक विशाल नौसैनिक बेडा इरानतर्फ परिचालन हुँदैछ, जुन उनले हालसालै भेनेजुएलामा पठाइएको सैन्य टोलीभन्दा पनि ठूलो भएको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले इरानलाई “परमाणु हतियार होइन, निष्पक्ष सम्झौता” रोज्न आग्रह गरेका छन् ।
यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानी सशस्त्र बल उच्च सतर्कतामा रहेको बताउँदै जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल र कडा जवाफ दिने चेतावनी दिएका छन् । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र रहेको दाबी गर्दै आएको छ र परमाणु हतियार विकासको आरोपलाई निरन्तर अस्वीकार गरिरहेको छ ।
ट्रम्पको पछिल्लो चेतावनी इरानभित्र जारी राजनीतिक तथा आर्थिक अस्थिरतासँग पनि जोडिएको देखिन्छ । हालै इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएका प्रदर्शनहरूले धार्मिक नेतृत्वको वैधतामाथि नै प्रश्न उठाएका थिए । ती प्रदर्शनहरू दमन गर्न सुरक्षा बलले कडा कारबाही गरेको बताइन्छ ।
अमेरिकामा आधारित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार गत डिसेम्बर अन्त्यदेखि सुरु भएको अशान्तिमा ६ हजार ३ सयभन्दा बढीको मृत्यु भएको दाबी गरिएको छ, जसमा अधिकांश प्रदर्शनकारी रहेका छन् । इन्टरनेट बन्द गरिएकाले थप हजारौं मृत्युको विवरण अझै पुष्टि हुने क्रममा रहेको जनाइएको छ । नर्वेमा आधारित इरान ह्युमन राइट्सले भने मृतकको संख्या २५ हजार नाघ्न सक्ने चेतावनी दिएको छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिनेटको वैदेशिक सम्बन्ध समितिमा इरानी शासन इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी गरेका छन् । उनका अनुसार आर्थिक संकटका कारण इरानी सरकारले जनताको असन्तुष्टि सम्बोधन गर्न सक्ने क्षमता गुमाउँदै गएको छ ।
यद्यपि, ट्रम्पको पछिल्लो अभिव्यक्ति मुख्यतया इरानको परमाणु कार्यक्रममै केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनले आवश्यक परे खाडी क्षेत्रमा तैनाथ अमेरिकी सैन्य शक्ति “छिटो र आक्रामक ढंगले” परिचालन गर्न तयार रहेको बताएका छन् । साथै, गत जुनमा इरानी परमाणु केन्द्रमाथि गरिएको अमेरिकी आक्रमणको स्मरण गराउँदै भविष्यको कारबाही अझै कठोर हुन सक्ने चेतावनी दिएका छन् ।
ट्रम्पको चेतावनीपछि प्रतिक्रिया दिँदै विदेशमन्त्री अराघचीले इरान सधैं “बराबरी, सम्मान र दबाबरहित वातावरणमा हुने निष्पक्ष परमाणु सम्झौता” का लागि तयार रहेको बताएका छन् । शान्तिपूर्ण परमाणु प्रविधिमा इरानको अधिकार सुनिश्चित हुने र परमाणु हतियार नसमेटिने कुनै पनि सम्झौता स्वीकार्य हुने उनको भनाइ छ ।
इरानका उप–विदेशमन्त्री काजेम घारिबाबादीले अमेरिका–इरानबीच औपचारिक वार्ता सुरु नभए पनि दुवै पक्षबीच सन्देश आदान–प्रदान भइरहेको जानकारी दिएका छन् ।
खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव र कूटनीतिक रस्साकस्सीले विश्व ऊर्जा बजार र क्षेत्रीय स्थायित्वमा थप अनिश्चितता बढाउने संकेत देखिन थालेको छ ।
Post Views: 158