विराटनगर । युनाइटेड अरब इमिरेट्स यूएई सरकारले आफ्नो ५४औँ राष्ट्रिय दिवस ‘ईद अल इतिहाद’को अवसर पारेर विभिन्न कारागारमा रहेका २६७ जना नेपाली नागरिकको कैद सजाय माफ गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार यूएई सरकारको यस कदमप्रति नेपाल सरकारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । “राष्ट्रिय दिवसको शुभ अवसरमा नेपाली कैदीहरूलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीका लागि यूएई सरकारप्रति नेपाल सरकार आभारी छ,” विज्ञप्तिमा उल्लेख छ ।
मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र मानवीय आधारमा लिइएको यस निर्णयले नेपाल–यूएई सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले पटक–पटक गरेको अनुरोधलाई सकारात्मक रूपमा सम्बोधन गर्दै यूएई सरकारले आममाफी दिने निर्णय गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, अन्य कुनै कानुनी झन्झट, विचाराधीन मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा आममाफी पाएका नेपाली नागरिकहरूले यूएईको प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।
यूएई सरकारको यो निर्णयलाई मानवीय संवेदनशीलता र द्विपक्षीय सहयोगको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ ।
Post Views: 136