विराटनगर । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित आइतबार राति टोकियो प्रस्थान गरेका हुन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।
भ्रमण अवधिमा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने तथा जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । यी भेटघाट तथा कार्यक्रमहरूबाट नेपाल–जापानबीचको दीर्घकालीन मित्रता, आर्थिक सहकार्य र लगानी विस्तारमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।
नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेका थिए ।
राष्ट्रपति पौडेल चारदिने भ्रमण पूरा गरी यही माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
Post Views: 123