विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पछिल्लो केही दिनयता बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ। बायुमण्डलमा बढ्दो प्रदूषण र मौसम परिवर्तनसँगै विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामीहरूको संख्या दैनिक रूपमा वृद्धि भइरहेको छ।
मौसम परिवर्तनसँगै तापक्रम घट्दै जाँदा र चिसो बढ्दै जाँदा रुघाखोकी, ज्वरो तथा मौसमी फ्लुका बिरामीहरू ह्वात्तै बढेका छन् । त्यसमाथि बायुमण्डलमा बढेको प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरू पनि अस्पताल धाउने क्रम बढेको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित भइरहेका छन्।
चिकित्सकहरूका अनुसार मौसम परिवर्तनका बेला शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने हुँदा भाइरल संक्रमण छिटो फैलिन्छ। साथै प्रदूषित हावाले फोक्सोमा प्रत्यक्ष असर पार्ने भएकाले दम, एलर्जी र खोकीका समस्या झनै बढ्ने गरेका छन्।
विराटनगरमा पछिल्लो समय सवारी साधनको बढ्दो चाप, धुलो र औद्योगिक प्रदूषणले वायु गुणस्तरमा गिरावट आएको स्थानीयहरू बताउँछन्। यसले स्वास्थ्यमा थप जोखिम निम्त्याएको छ।
स्वास्थ्यकर्मीहरूले यस्तो अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। स्वास्थ्यमा सामान्य समस्या देखिए पनि लापरबाही नगरी समयमै चिकित्सकको सल्लाह लिन स्वास्थ्य विज्ञहरूको आग्रह छ। बढ्दो प्रदूषण र बदलिँदो मौसमबीच सचेत रहनु नै स्वास्थ्य सुरक्षाको मुख्य उपाय भएको चिकित्सकको भनाइ छ।
Post Views: 234