विराटनगर । मोरङको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८औँ संस्करण चैत २८ गतेबाट सुरु हुने भएको छ । बैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको झारखण्डस्थित विर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार उद्घाटन खेलमै पूर्वविजेता झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले ट्रफीसहित ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगिताको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ एफसीले शहीद स्मारक ‘ए’ डिभिजन विजेता तथा साविक उपविजेता चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेलमा नेपाल पुलिस क्लबले २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्ने तालिका छ ।
मोरङ जिल्लाको विजेता टोली सम्राट स्पोर्टिङ क्लबले चौथो खेलअन्तर्गत नयाँ वर्ष २०८३ को पहिलो दिन बैशाख १ गते भारतको झारखण्ड टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
साविक विजेता थ्रीस्टार क्लब भने यस संस्करणमा सहभागी नहुने भएको छ। अघिल्लो संस्करणमा थ्रीस्टारले चर्च ब्वाइजलाई २–० ले हराउँदै दोस्रोपटक उपाधि जितेको थियो ।
विराटनगरस्थित शहीद मैदानमा दिवा–रात्रि खेल हुने प्रतियोगिताका लागि मैदान तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक नोवेल मेडिकल कलेज रहेको छ भने कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले प्रवर्द्धन गरिरहेका छन् ।
वि।सं। २०१८ सालबाट ‘महेन्द्र गोल्डकप’ का रूपमा सुरु भएको प्रतियोगिता २०६७र६८ पछि ‘विराट गोल्डकप’ मा रूपान्तरण गरिएको हो। यसपटक ट्रष्टले पुरानै विरासतलाई निरन्तरता दिँदै ३८औँ संस्करणका रूपमा प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
Post Views: 114