विराटनगर। पारश मणि गेलालले उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले राजनीतिक खिचातानी र हस्तक्षेपका कारण उदयपुर सिमेन्ट उद्योग जीर्ण अवस्थामा पुगेको बताएका हुन्।
सांसद गेलालले उद्योग सञ्चालनमा ल्याए हजारौं रोजगारी सिर्जना हुने उल्लेख गर्दै सरकारले प्राथमिकताका साथ आवश्यक पहल गर्नुपर्ने बताए। त्यसैगरी, उनले कोशी नदीको कटानका कारण प्रत्येक वर्ष हजारौं नागरिक प्रभावित भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। कटान नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ थियो।
उनले अधुरा रहेका पुल तथा कल्भर्ट निर्माण समयमै सम्पन्न नहुँदा स्थानीय जनजीवन प्रभावित भएको उल्लेख गरे। विशेषगरी बालबालिकाको शिक्षामा समेत असर परेको भन्दै यस्ता आयोजनाहरू चालु आर्थिक वर्षमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गर्न उनले माग गरे।
सांसद गेलालले भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरी सामाजिक न्याय सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
Post Views: 73