विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनपछि थुनामुक्त भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार थप म्याद नबढाइएपछि उनीहरूलाई बिहीबार परिवारको जिम्मा लगाइएको हो।
चैत १४ गते भक्तपुरको गुन्डुस्थित निवासबाट ओली र कटुन्जेबाट लेखक पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमै भर्ना गरिएको थियो भने लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको थियो।
प्रहरीले अनुसन्धानका लागि तीनपटक म्याद थप गराएको थियो। पहिलोपटक पाँच दिन, दोस्रोपटक दुई दिन र तेस्रोपटक पाँच दिनको म्याद अदालतबाट लिइएको थियो। तर, चैत २२ गते सर्वोच्च अदालतका न्यायाधीशद्वयको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थप म्याद नदिन आदेश दिएको थियो।
उनीहरूमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अत्यधिक बल प्रयोग गरी दमन गरेको आरोप छ। सो घटनाको छानबिनका लागि गठित पूर्वन्यायाधीशको आयोगले ओली र लेखकसहित उच्च तहका सुरक्षाकर्मी र प्रशासनिक अधिकारीविरुद्ध फौजदारी अनुसन्धान सिफारिस गरेको थियो।
Post Views: 133