विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमार्फत भएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलसहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले भन्सार प्रशासनतर्फका उच्च अधिकारीदेखि कर्मचारीसम्मको संलग्नता देखाउँदै प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतहरू रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ तथा नायब सुब्बा सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेललाई प्रतिवादी बनाएको छ ।
यसै प्रकरणमा महरा र उनका छोरा राहुलसहित निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा, अमृत कार्की र निमा गुरुङलाई मतियारको आरोपमा मुद्दा चलाइएको छ ।
त्यसैगरी प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र दोजिङ वाङ, बेल्जियमका दावा छिरिङ तथा भारतीय नागरिक साहेव राव पाण्डुरङलाई पनि प्रतिवादी बनाइएको छ । डेक्टर ट्राभल्स एण्ड टुर्स प्रालि पनि मुद्दामा समेटिएको छ ।
आयोगका अनुसार २०७९ पुस १० मा फ्लाई दुबईमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हाङ सोङले ल्याएको दुई वटा सुटकेसभित्र ७३० वटा इलेक्ट्रोनिक सिगरेट भेपमा सुन लुकाएर भित्र्याइएको थियो । उक्त सामानमाथि शंका लागे पनि भन्सार कर्मचारीले मिलेमतोमा आवश्यक भौतिक परीक्षण नगरेको आरोप छ ।
बरामद सामग्री नियमानुसार गोदाममा राख्नुपर्नेमा प्रमुख भन्सार अधिकृतको कार्यकक्षमै राखिएको, तस्कर समूहसँग अस्वाभाविक भेटघाट र सम्पर्क भएको तथा करिब १९ दिनसम्म सामग्री भन्सारमै रोकेर पछि मात्र मुद्दा तथा लिलामी शाखामा पठाइएको अनुसन्धानबाट खुलेको छ ।
साथै, सीसीटीभी निगरानी बाहिर पर्ने स्थानमा सामग्री सारेर प्रमाण हेरफेर गर्ने प्रयास गरिएको आरोप पनि आयोगले लगाएको छ ।
आठ किलो ४८० ग्राम सुन तस्करीमा संलग्न भई करिब ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बराबरको हिनामिना गरिएको निष्कर्षसहित आयोगले मुद्दा दायर गरेको हो । भन्सार कर्मचारीमाथि प्रत्यक्ष भ्रष्टाचार तथा अन्य व्यक्तिमाथि सहयोगी ९मतियार० को आरोप लगाइएको छ ।
Post Views: 165