विराटनगर । विराटनगर–८ मा अवस्थित ग्रेडेड स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी भएका विद्यार्थीहरूलाईऔपचारिक विदाई गरेको छ । विद्यालय परिसरमा आयोजित विशेष समारोहमार्फत कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का २९ जना परीक्षार्थीलाई सम्मानसहित विदाई गरेका हुन् ।
कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमलालसिंह सुवालले विद्यार्थीहरूको शैक्षिक यात्रामा विद्यालयले खेलेको भूमिका स्मरण गर्दै आगामी दिनमा अझ उच्च लक्ष्य निर्धारण गरी अघि बढ्न आग्रह गरे । उनले विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको कामना व्यक्त गरे । ‘एसईई केवल एउटा परीक्षा होइन, यो जीवनको अर्को चरणतर्फको प्रवेशद्वार हो,’ उनले भने ।
समारोहमा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, नृत्य, कविता वाचनलगायत विविध कार्यक्रम प्रस्तुत गरिएको थियो । विद्यालयका सेकेण्डरी प्रमुख विपिन यादवले विद्यार्थीहरूको समग्र विकासमा विद्यालय सधैं प्रतिबद्ध रहने उल्लेख गर्दै उच्च शिक्षा तथा करिअर मार्गदर्शनमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने बताए । उनले भने, ‘हाम्रा विद्यार्थी जहाँ पुगे पनि विद्यालयसँगको सम्बन्ध कहिल्यै टुट्दैन, हामी सधैं उनीहरूको साथमा रहनेछौं ।’
त्यस्तै, कक्षा १० का विद्यार्थीहरू प्रशान्त कामत, रोशनी साह, रोनक कामत र स्मारिका अधिकारीले विद्यालयमा बिताएका वर्षहरूलाई जीवनकै महत्वपूर्ण समयका रूपमा स्मरण गर्दै शिक्षक तथा सहपाठीप्रति आभार व्यक्त गरे । उनीहरूले अनुशासन, परिश्रम र आत्मविश्वासलाई सफलताको मूल मन्त्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रमले विद्यालयमा पारिवारिक वातावरण, शिक्षक–विद्यार्थीबीचको आत्मीय सम्बन्ध तथा सहकार्यको संस्कारलाई उजागर गरेको सहभागीहरूको भनाइ थियो। एसईईपछि विद्यार्थीहरू उच्च शिक्षा, प्राविधिक अध्ययन तथा विविध पेशागत यात्रातर्फ अग्रसर हुने तयारीमा रहेका छन्।
Post Views: 143