विराटनगर । रुसी सेनाले शुक्रबार बिहान युक्रेनभर तीव्र हवाई आक्रमण गर्दा कम्तीमा ८ जनाको मृत्यु तथा ३५ जना घाइते भएका छन् । किभसहित विभिन्न सहरमा मिसाइल र ड्रोन प्रहारपछि ठूला भवनमा आगलागी फैलिएको र दर्जनौँ आवासीय संरचना क्षतिग्रस्त भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
किभ सैन्य प्रशासनका प्रमुख तैमूर तकाचेन्कोका अनुसार, धेरै स्थानमा खसेका भग्नावशेषका कारण उद्धार चुनौतीपूर्ण बनेको छ। “उद्धार टोली तुरुन्तै परिचालन गरिए पनि क्षति ठूलो छ,” उनले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीका अनुसार, आक्रमणमा रुसले ४३० ड्रोन र १८ मिसाइल प्रयोग गरेको थियो । किभ नै मुख्य लक्ष्य बनेको र दर्जनौँ अपार्टमेन्ट भवनमा क्षति पुगेको उनले ‘टेलिग्राम’मार्फत जानकारी दिए।
प्रारम्भिक सूचनामा सुमी क्षेत्रमा रूसले जिरकन मिसाइल पनि प्रहार गरेको उल्लेख छ। निरन्तर आक्रमणपछि जेलेन्स्कीले पश्चिमी साझेदारलाई थप कडा प्रतिबन्ध तथा सैन्य सहयोगका लागि आग्रह गर्दै, “रुस अझै तेल बेच्न र युद्ध योजनामा सक्षम छ, यो रोकिनुपर्छ,” भने ।
युक्रेनले लामो दूरीका क्षेप्यास्त्र क्षमता प्रयोग गरिरहेको भए पनि वायु सुरक्षाका संयन्त्र अझै अपुरो रहेको उनले बताए । “हामीलाई थप वायु रक्षा प्रणाली र अवरोधक मिसाइलहरू अत्यावश्यक छन्,”
रूसी रक्षा मन्त्रालयले उल्टै युक्रेनले लक्ष्य गरेको २१६ ड्रोन रातभरमै खसालिएको दाबी गरेको छ । मन्त्रालयका अनुसार, दक्षिणी क्रास्नोडार क्षेत्रमा मात्रै ६६ ड्रोन नष्ट गरिएको थियो, जहाँ युक्रेनी प्रहारले पहिले तेल भण्डारण केन्द्र र बन्दरगाह लक्षित गरेको थियो। त्यसैगरी, सारातोभ क्षेत्रका स्थानीय अधिकारीहरूले पनि ड्रोन आक्रमणले सार्वजनिक संरचनामा क्षति पुर्याएको बताएका छन् ।
Post Views: 172