विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै छ।
सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनुपर्ने भएकाले आजै पोखरा लैजान लागिएको छ।
लामिछानेलाई सिमराबाट हवाईमार्गमार्फत काठमाडौं ल्याइएको छ। रविलाई बुद्ध एअरको जहाजमा राखेर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ल्याइएको हो। उनलाई आजै विमानमार्फत पोखरा लगिनेछ। लमिछानेसँग हिजो एकैदिनमै पर्सामा बयान सकिएको छ।
५४ दिनदेखि प्रहरीको हिरासतमा रहेका लामिछानेको कास्की, रूपन्देही, काठमाडौँ, चितवन र पर्सा जिल्लामा बयान भइसकेको छ। सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्याएको हो।
यस्तै प्रहरीले सानो पाइला सहकारीमा जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाललाई स्थलमार्गबाटै पर्साबाट पुनः पोखरा पुर्याएको छ।
पर्सा जिल्ला अदालतले गत मङ्सिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो । तत्कालीन समयमा गोर्खा मिडियामा लामिछाने प्रबन्ध निर्देशक रहेको बेला सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको असुन्धानले देखाएको छ।
Post Views: 290