विराटनगर । भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्।
आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका थिए।
दुबईको आईसीसी एकेडेमी ‘ए’ मैदान मा आज वर्षाले प्रभावित सेमिफाइनलमा भारतले श्रीलंकालाई १८ ओभरमै १ सय ३९ रनको लक्ष्य पछ्याउँदै २ विकेट गुमाउँदै सहज जित निकाल्यो।
भारतका कप्तान आयुष म्हात्रे र ओपनर वैभव सूर्यवंशी सुरुमै आउट भए पनि विहान मल्होत्रा र आरोन जर्ज ले उत्कृष्ट ब्याटिङ गरे। दुवैले अर्धशतक प्रहार गर्दै अविजित १ सय १४ रनको साझेदारी गरे ।
अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो। वर्षाका कारण २७ ओभरमा घटाइएको खेलमा बंगलादेश १ सय २१ रनमै अलआउट भयो।
Post Views: 198