विराटनगर । बंगलादेशका चर्चित विद्यार्थी नेता तथा इन्कलाब मञ्चका संयोजक शरिफ उस्मान हादीको हत्या भएपछि देशको राजनीति थप तनावग्रस्त बनेको छ। मृतकका दाइ ओमर हादी मोहम्मदले अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसमाथि गम्भीर आरोप लगाउँदै आफ्ना भाइको हत्या आगामी संसदीय चुनाव विफल पार्नकै लागि षड्यन्त्रपूर्वक गराइएको दाबी गरेका छन्।
ढाकाको शाहबाग क्षेत्रमा राष्ट्रिय संग्रहालय अगाडि आयोजित सहिदी शपथ कार्यक्रममा बोल्दै ओमर हादीले सरकारभित्रै रहेको एक शक्तिशाली समूहले चुनावी वातावरण अस्थिर बनाउन जानाजानी यो हत्या गराएको आरोप लगाए। बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारका अनुसार उनले भने, “तपाईंहरूले नै उस्मान हादीलाई मार्न लगाउनुभयो, र अहिले यही घटनालाई बहाना बनाएर चुनाव बिगार्ने प्रयास भइरहेको छ।”
ओमर हादीका अनुसार उनका भाइ कुनै विदेशी शक्ति वा एजेन्सीको दबाबमा नझुक्ने अडान राख्ने नेता भएकै कारण निशाना बनाइएका हुन्। शरिफ उस्मान हादी आगामी फेब्रुअरी १२ मा हुने संसदीय चुनावका उम्मेदवार समेत थिए। उनले चेतावनी दिँदै भने, यदि हत्यामा संलग्न दोषीलाई छिटो कानुनी कठघरामा नल्याइए युनुस नेतृत्वको सरकारको अवस्था पूर्वप्रधानमन्त्री शेख हसिनाजस्तै हुन सक्नेछ।
३२ वर्षीय शरिफ उस्मान हादीमाथि ढाकामा एक मस्जिदबाट बाहिर निस्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको थियो। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ डिसेम्बर १९ मा उपचारकै क्रममा उनको मृत्यु भयो। घटनापछि राजधानी ढाकासहित देशका विभिन्न भागमा प्रदर्शन र तनाव फैलिएको छ।
हादी ती प्रमुख विद्यार्थी नेतामध्ये एक थिए, जसले सन् २०२४ मा भएको जनआन्दोलनको नेतृत्व गरेका थिए। सोही आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ अगस्टमा पद छाडेर देश छोड्नुपरेको थियो। अहिले हादीको हत्या प्रकरणलाई लिएर बंगलादेशमा फेरि राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको छ, भने अन्तरिम सरकारमाथि निष्पक्ष छानबिन र शीघ्र न्यायको दबाब तीव्र बन्दै गएको छ।
Post Views: 198