विराटनगर । मध्यपूर्वमा जारी युद्ध र विश्वव्यापी आपूर्ति अवरोधका कारण नेपालमा एलपी ग्यासको संकट बढ्दै गएको छ। यसैबीच नेपाल आयल निगमले आजदेखि बजारमा हरेक ग्यास सिलिन्डरमा आधा मात्र ग्यास भर्ने निर्णय गरेको छ।
निगमका अनुसार, प्रत्येक सिलिन्डरमा ७।१ किलो एलपी ग्यास भरी मूल्य प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण गरिनेछ। निगमले मागअनुसार नियमित रूपमा ग्यास आपूर्ति गरिरहेको भए पनि हालको परिस्थितिमा माग अत्यधिक भएको छ।
निगमले स्पष्ट पारेको छ कि यो व्यवस्था शुक्रबारदेखि लागू हुनेछ र अर्को निर्णय नभएसम्म यस्तै प्रणाली जारी रहनेछ।
विशेषज्ञहरूले पनि चेतावनी दिएका छन् कि मध्यपूर्वमा जारी युद्ध र विश्वव्यापी तेल–ग्यास आपूर्ति संकटले नेपालजस्ता आयातप्रधान मुलुकमा ग्यास आपूर्तिमा चुनौती उत्पन्न गर्न सक्छ। नागरिकहरूलाई आवश्यकतानुसार मात्र ग्यास प्रयोग गर्न र अतिआवश्यक काम बाहेक बचत गर्ने सुझाब दिइएको छ।
यस निर्णयपछि घरायसी भान्साघर, होटल तथा उद्योग क्षेत्रमा पनि व्यवस्थापन चुनौती देखिन थालेको छ। निगमले आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न थप प्रयास गरिरहेको छ।
Post Views: 213