विराटनगर । विद्यालयस्तरका प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले विराट स्पोर्ट्स जोनको आयोजनामा विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा विराटनगर तथा आसपासका ३२ वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।
स्थापनाको पहिलो वर्षमै खेलकुद क्षेत्रमा उल्लेखनीय सक्रियता देखाएको विराटनगर ३ मा अवस्थित विराट स्पोर्ट्स जोनले प्रतियोगिता सञ्चालनका लागि २ लाख रुपैयाँभन्दा बढी खर्च हुने बताएको छ । पहिलो संस्करणमै प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र उच्चस्तरीय बनाउन आवश्यक तयारी पूरा भएको आयोजकको भनाइ छ । विराट स्पोर्ट्स जोनले छोटो अवधिमै खेलकुद गतिविधिलाई प्राथमिकतामा राख्दै विद्यालयस्तरका प्रतियोगिता आयोजना गर्न थालेको हो ।
यस प्रतियोगिताको विशेष आकर्षणका रूपमा पहिलोपटक ‘फेयर प्ले अवार्ड’ ट्रफी प्रदान गरिने भएको छ । प्रतियोगिताको बेस्ट प्लेयरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा तीन महिनाको शतप्रतिशत छात्रवृत्ति र रु १,००० बराबरको भौचर प्रदान गरिने छ । त्यस्तै, बेस्ट ब्याट्सम्यानलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा एक महिनाको शतप्रतिशत छात्रवृत्ति एक हजार बराबरको भौचर तथा बेस्ट बलरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा एक महिनाको शतप्रतिशत छात्रवृत्ति र एक हजार बराबरको भौचर प्रदान गरिने तथा सो कार्यक्रमका सहभागीलाई खाजाको समेत व्यवस्था गरिएको सस्थाका अध्यक्ष हरीप्रसाद बजगाँईले बताएका छन् ।
त्यसैगरी, प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई मेडलसहित क्रिकेट एकेडेमीको भर्ना शुल्कमा ५० प्रतिशत छुट र रु ५०० बराबरको भौचर प्रदान गरिने छ । प्रतियोगिताबाट उत्कृष्ट सम्भावना देखाउने उदयमान खेलाडीलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन र नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितालाई ३ दिन मात्र संचालन गर्ने उदेश्य भए पनि विराटनगर तथा आसपास क्षेत्रका विधालयको अत्यधिक सहभागिताका कारण समय थप गरि श्रावण २७ देखि श्रावण ३१ गते सम्म ५ दिनको कार्यक्रम आयोजना गरिने उक्त कार्यक्रमका संयोजक करण कार्कीले जानकारी दिए ।
Post Views: 51