सुनसरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका भारतीय कैदी धरानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लास्थित हबिपुरका ३२ वर्षीय मोहम्मद साहजादा छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार साहजादा धरान–७ शान्तिपथमा कोठा भाडामा लिएर बस्दै आएका थिए।
लागुऔषध मुद्दामा पक्राउ परेका साहजादालाई सुनसरी जिल्ला अदालतले २०८२ वैशाख ७ गते १ लाख ४० हजार रुपैयाँ जरिबानासहित ३ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि उनी सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारमा उत्पन्न परिस्थितिको मौका छोपेर साहजादा फरार भएका थिए। त्यसपछि उनी धरानमा आएर डेरा लिएर बसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फरार रहेकै अवस्थामा साहजादाले धरान, इटहरी र विराटनगर क्षेत्रमा लागुऔषधको कारोबार तथा ओसारपसार गर्दै आएका थिए। फरार कैदीको खोजी गर्ने क्रममा प्रहरीले उनलाई धरानबाट पक्राउ गरेको हो।
पक्राउपछि साहजादालाई अदालतको फैसलाअनुसार बाँकी कैद भुक्तानका लागि पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
Post Views: 100