पश्चिम एसियामा चर्किंदो तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेपछि भारतले बहुमूल्य धातुको आयात नियन्त्रणतर्फ थप कडा कदम चालेको छ । सुनमा कडाइ गरिसकेको भारत सरकारले अब चाँदी आयातमा पनि प्रतिबन्धात्मक नीति लागू गरेको हो । यसलाई भारतले विदेशी मुद्रा सञ्चितिमाथि बढ्दो दबाब कम गर्ने प्रयासका रूपमा हेरिएको छ ।
भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको नयाँ सूचनाअनुसार ९९।९ प्रतिशत शुद्धता भएका सिल्भर बारलाई अब ‘फ्री’ आयात सूचीबाट हटाइएको छ । यससँगै यस्ता चाँदीका बार आयात गर्न विशेष अनुमति आवश्यक पर्नेछ । अन्य प्रकारका सिल्भर बारलाई पनि प्रतिबन्धित सूचीमा राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि नै भारत सरकारले सुन, चाँदी र प्लाटिनममा लाग्ने आयात शुल्क उल्लेखनीय रूपमा बढाइसकेको छ । सुन र चाँदीमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ भने प्लाटिनममा १५।४ प्रतिशत शुल्क कायम गरिएको छ । साथै एडभान्स अथोराइजेसन स्किमअन्तर्गत सुन आयातमा १०० किलोग्रामको सीमा पनि तोकिएको छ । यसअघि यस्तो कुनै सीमा थिएन ।
भारत विश्वकै ठूलो सुन आयातकर्ता देशमध्ये एक हो । तेल र बहुमूल्य धातुको आयात अमेरिकी डलरमा हुने भएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने गर्छ । पछिल्लो समय पश्चिम एसियाली संकटका कारण तेलको मूल्य बढ्दै जाँदा भारतले अनावश्यक आयात घटाएर डलर बचाउने रणनीति अघि बढाएको विश्लेषण गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि मात्रै नागरिकलाई अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न र एक वर्षसम्म सुन खरिद नगर्न आग्रह गरेका थिए । त्यसलगत्तै सरकारले सुनपछि चाँदीमा पनि कडाइ गर्नुले भारत आर्थिक दबाब व्यवस्थापनमा सतर्क बनेको संकेत दिएको छ ।
Post Views: 348