विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ता फलदायी रहेको दुवै पक्षले बताएका छन्।
भारत भ्रमणका क्रममा करिब एक घण्टा लामो भेटपछि लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेपाल र भारतले विगतका सीमितता पार गर्दै विकास–कूटनीतिको नयाँ चरणतर्फ अघि बढ्न सक्ने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार साझा सभ्यतागत सम्बन्ध, डिजिटल कनेक्टिभिटी र सहज आवागमनका माध्यमबाट दुई देशबीच विश्वासमा आधारित र दीगो साझेदारी निर्माण गर्न सकिन्छ।
उनले नेपाल–भारतबीचको साझा समृद्धिका लागि यस्ता सम्भावनालाई व्यवहारमा उतार्न रास्वपा प्रतिबद्ध रहेको पनि बताएका छन्।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भेटलाई सकारात्मक भन्दै नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गतको महत्वपूर्ण साझेदारका रूपमा उल्लेख गरेका थिए।
मोदीले नेपाल–भारतको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्न आफू इच्छुक रहेको बताएका छन्।
रास्वपा सभापति लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल हाल भारत भ्रमणमा छ। भ्रमणका क्रममा भारतीय जनता पार्टी ९भाजपा० का शीर्ष नेताहरूसँग भेटवार्ता तथा दुई दलबीच सम्बन्ध विस्तारबारे छलफल भइरहेको छ।
प्रतिनिधिमण्डलमा लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेसहित रास्वपा सांसदहरू विपिन आचार्य र दीपक बोहोरा समेत सहभागी छन्।
Post Views: 154